बसाइँसराइ तथा युवा पलायन राेक्ने नीति अवलम्बन गर्नुपर्नेमा जाेड
दाङ,९ जेठ ।
लुम्बिनी प्रदेश सभामा सरकारको तर्फबाट प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथिकाे छलफल सुरु भएको छ । शुक्रबार बसेकाे प्रदेश सभाको छैठौं अधिवेशनको सातौं बैठकमा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथिकाे छलफल सुरु भएको हो ।

यसअघि आजै बसेकाे प्रदेश सभाको छैठौं अधिवेशनको छैठौं बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

नीति तथा कार्यक्रममाथिकाे छलफलमा सहभागी प्रदेश सभा सदस्यहरूले कृषि क्रान्तिका कुरा नारामै सिमित भएको भन्दै कृषिमा प्रविधिको प्रयोग र कृषकलाई प्राेत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्नेमा जाेड दिए ।

बसाइँसराइ तथा युवाहरूकाे विदेश पलायन राेक्ने कार्यक्रम नीति तथा कार्यक्रममा नदेखिएको भन्दै प्रदेश सभा सदस्यहरूले कृषि र पर्यटन मार्फत राेजगारी सिर्जना गर्न सुझाव दिए ।

छलफलमा पुर्व मन्त्री तथा प्रदेश सभा सदस्य बिष्णु पन्थी,पुर्वमन्त्री बसिउद्दिन खाँ,पुर्वमन्त्री सिके गुप्ता,पुर्व मन्त्री दिपेन्द्र कुमार पुन,प्रदेश सभा सदस्य रामजी घिमिरे,निमा गिरी,सुदाकर पाण्डे,तारा थापा,रत्न बहादुर खत्रीलगायतले सहभागीता जनाएका थिए ।

लुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै २०४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो ।