काठमाडौँ,९ जेठ ।
आज पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
महाशाखाका अनुसार आज राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च भूभागहरूमा हिमपातको सम्भावना यथावत् रहेको माैसमविदकाे भनाइ छ ।
वर्षाको सम्भावनासँगै महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी चट्याङसहितको मौसम र सम्भावित हिमपातले पहाडी तथा हिमाली क्षेत्रमा जोखिम बढाउन सक्ने भन्दै महाशाखाले सचेत गराएको छ ।
देशमा अहिले पश्चिमी वायु र स्थानीय वायुकाे असर रहनुकासाथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस मौसम प्रणालीको प्रभावले आज बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित अधिकांश पहाडी भूभागकाे माैसम आंशिकदेखि सामान्य बदली रहेको थियो ।
बिहान मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भेगका केही स्थानमा अहिले चट्याङसहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।








