बुटवल,९ जेठ ।
बुटवलमा जारी प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताकाे उपाधिका लागि आज कान्ति माबि र न्यू होराईजन बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुदैछ ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा विहिबार भएको पहिलो सेमीफाईनल खेलमा दीप बोर्डिङ स्कुललाई १० विकेटले हराउदै न्यू होराईजन फाइनलमा प्रवेश गरेको थियो ।

बुटवल उपमहानगरपालिका वडा नं १६ नरैनापुर क्रिकेट मैदानमा भएको पहिलो सेमीफाईनलमा टस जितेर न्यू होराईजनले दीपलाई ब्याटिङको निम्तो दिएको थियो । दीपले निर्धारित १२ ओभरमा ८ बिकेटको नोक्सानीमा ३८ रनको लक्ष्य खडा गरेको थियो । खराब शुरुवात गरेको दीपका लागि आशिष बिकले ३१ बलमा ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंककाे रन जोड्न सकेनन । दिप बोर्डिङलाई कम स्कोरमा रोक्न न्यू होराईजनका प्रिन्स पलले ३ तथा अब्राहम अलीले २ बिकेट लिए । झिनो लक्ष्यलाई न्यू होराईजनले दोस्रो ओभरमै भेटायो । होराईजनका सिद्धार्थ ढकालले ९ बलमा २१ तथा संगम पाण्डेले ८ बलमा १३ रनको योगदान दिए । न्यू होराईजनका प्रिन्स पल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

बिहीबारै भएको दोस्रो सेमीफाईनलमा कान्तिले नबिन औद्योगिक माबिलाई २० रनले पराजित गर्दै फाइनफाइनलमा प्रवेश गरेको थियो ।

टस जितेर नबिनले कान्तिलाई ब्याटिङको निम्तो दियो । कान्तिले निर्धारित १२ ओभरमा ७ बिकेटको नोक्सानीमा ९३ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि रोजन कुमालले २६ बलमा ४६ तथा बिशाल पौडेलले १२ बलमा १० रन जोडे । नबिनका कुशल रायमाझीले २ बिकेट लिए । मध्यम लक्ष्य पछ्याएको नबिनको ब्याटिङ कमजोर रह्यो । केशव सुवेदीले १२ बलमा १९ र स्वीकृत पौडेलले २२ बलमा १६ रनबाहेक अन्य ब्याटसम्यान क्रिजमा टिक्न सकेनन् । कान्तिका बिशाल मरासिनीले ३ बिकेट लिएका थिए ।

उपाधिका लागि अहिले कान्ति मावि र न्यु होराइजनबीच प्रतिस्पर्धा भइरहेको छ ।

विद्यालयस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले जानकारी दिए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने उनलेे बताए । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको बुटवल नगर खेलकुद विकास समिति संयोजक बाेनिन पियाले बताए । प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरी १७ टिमकाे सहभागीता रहेको नगर खेलकुद विकास समिति सदस्य सुनिता गिरीले जानकारी दिइन् ।