काठमाडौं,८ जेठ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य स्थानका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावनासमेत रहेको मौसमविद्हरूले बताएका छन् ।

महाशाखाका अनुसार आज राति पनि मौसम धेरै ठाउँमा बदली नै रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाड तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम रहनेछ ।

मौसममा यस्तै प्रकृतिको सक्रियताका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल देशभर मौसममा पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडी तथा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै कारण कोशी, मधेस, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।