काठमाडौँ,७ जेठ ।
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर मंगलबार गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो ।

अख्तियार स्रोतले उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार उनले भिजिट भिसामा गडबडी गरेको गुनासो गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेको थियो । उनि बिरूद्व अख्तियारमा पनि उजुरी परेको अख्तियारले जनाएको छ ।

भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको छ । ‘मोबाइलमा यससँग सम्बन्धित महत्त्वपूर्ण विवरणहरू छन्’, एक अधिकारीले भने, ‘कागजातहरू समेत नियन्त्रणमा लिएर अब विस्तृत अनुसन्धान हुन्छ ।’

आयोग स्रोतका अनुसार, उनले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको बारे यथेष्ट आधारहरू फेला परेका छन् ।