काठमाडौं,६ जेठ ।
अन्ततोगत्वा सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिकारीले जानकारी दिए । उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन् ।

अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।

त्यसो त पौडेल गभर्नर बन्ने यसअघि नै सुनिश्चित जस्तै थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो ।

मंगलबार पनि दुई नेताबीच छलफल भएको थियो । त्यसलगत्तै समितिको बैठक बसेको थियो । नाम सिफारिस भएसँगै मन्त्रिपरिषद्ले आजै गभर्नर नियुक्ति गरेको हो ।