बुटवल,६ जेठ ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा उनीविरुद्ध रुपन्देही जिल्ला अदालतबाट यही जेठ १ गते पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ पूर्जी जारी भएसँगै चौधरी फरार भएका थिए ।

चौधरी मंगलबार प्रहरी कार्यालयमा आफै हाजिर भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए ।

बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । चौधरी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई पत्राचार गरी चौधरीलाई पक्राउ गरेर बुझाउन अनुरोध गरेको थियो ।