काठमाडौँ,६ जेठ ।
आज पनि देशभरकाे माैसम आंशिकदेखि सामान्य बदली भई कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसँगै अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ । मधेस प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता आवश्यक महाशाखाले सुझाव दिएको छ ।

आज राति पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र मधेससहित अन्य प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने संकेत देखिएको छ ।

मौसमी प्रणालीको यो सक्रियताका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, सडक यातायात तथा हवाई उडानहरूमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै खुला स्थानमा चट्याङ्गको जोखिम, पहाडी क्षेत्रमा संभावित पहिरो वा सडकमाथिको ढुंगा खस्ने घटना, र हावाहुरीको सम्भावनाले निर्माणाधीन संरचना तथा खेतीपातीमा क्षति पुर्‍याउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सावधानी अपनाउन पनि महाशखाकाे अनुरोध छ ।

हाल देशभर पश्चिमी वायु, स्थानीय वायुप्रणाली र बङ्गालको खाडी तथा अरब सागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव सक्रिय देखिएको माैसमविदले बताएका छन । यसै प्रभावका कारण हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।