बुटवल,५ जेठ ।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले जनताकाे लामो संघर्ष र बलीदानीबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रमाथि सत्तासिन र प्रतिपक्ष दुवैले घात गरेको बताएका छन् ।

पार्टीका बिभिन्न इकाई तथा जनवर्गिय संगठनहरूद्वारा आयोजित औपचारिक,अनौपचारिक तथा भेटघाट कार्यक्रममा सहभागी हुन गृह जिल्ला रुपन्देही आएका कार्यकारी अध्यक्ष सूर्यवंशीले उक्त कुरा बताएका हुन् ।

जनताले “राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो” भन्न नसक्दा वा परिस्थिति अनुसार समाज चलायमान हुन नसक्दा देशमा आजको गम्भीर परिस्थिति निर्माण भएको भन्दै उनलेे समाजले “राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो” भन्न सक्ने वातावरण बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जाेड दिए ।

“व्यवस्था घाती र देश घाती”का विरुद्ध राष्ट्रिय जनमुक्ति पार्टीले शसक्त खबरदारी गर्न जरुरी रहेको भन्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले त्यसका लागि तयार रहन नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
उनले यस्ता परिस्थितिलाई निर्भिकताका साथ चिरेर अगाडि बढ्न नेता कार्यकर्ताहरुलाई आव्हान गरे ।

केही दिनका लागि गृह जिल्ला आएका कार्यकारी अध्यक्ष सूर्यवंशीले रुपन्देही जिल्लावासी पार्टीका केन्द्रीय तहका नेताहरुसँ पार्टीको आन्तरिक विषयमा छलफल गर्नुका साथै लुम्बिनी प्रदेश स्तरीय छलफलमा सहभागी भएको पार्टीका महासचिव टाेप अस्लामीले जानकारी दिए ।

यस बीचमा कार्यकारी अध्यक्ष सुर्यवंशीले पार्टीमा निःस्वार्थ योगदान दिंदै आएका र हाल अशक्त अवस्थामा रहेका अग्रहरुको स्वास्थ्य अवस्था बारे प्रत्यक्ष जानकारी लिनुका साथै सम्मान गरेको महासचिव अस्लामीले बताए ।

गत बैशाख ३१ गते राष्ट्रिय महिला मोर्चा, रुपन्देहीद्वारा नयाँ बर्ष २०८२ को सन्दर्भमा आयोजना गरेको “भेटघाट तथा शुभकामना आदानप्रदान” कार्यक्रममा सहभागी भएका कार्यकारी अध्यक्ष सुर्यवंशीले जिल्ला एवं पालिका तहका नेता कार्यकर्ता बीच पार्टीकाे आगामी कार्यक्रम तथा देशको समसामयिक परिस्थिति बारे छलफल गरेको साे पार्टीले जनाएको छ ।