काठमाडौं,५ जेठ ।
सहकारी ठगी प्रकरणकाे अनुसन्धान क्रममा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि ‘हेर्न नभ्याउने’मा परेको छ । लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ हुने तय भए पनि अन्तिम समयमा ‘हेर्न नभ्याइने’ मा परेको हो ।
लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिकाे सुनुवाइका लागि पटक पटक पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ भन्दै ४ पटक सूचीमा चढाएर पनि पेशी सारिँदै आएको थियो । याे सहित रिटमाथिको सुनुवाइ पाँचाै पटक सरेको हो ।
गत बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म रिट चार पटक हेर्न नमिल्ने सूचीमा परेपछि रास्वपा सांसद सोभिता गौतमले पनि संसदमा प्रश्नसमेत उठाएकी थिइन् ।
सभापति लामिछानेको तर्फबाट उनकी श्रीमति निकिता पौडेलले गैरकानुनी रुपमा आफ्ना श्रीमानलाई थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।






