काठमाडौँ,५ जेठ ।
आज पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागकाे माैसम आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा र बाँकी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस प्रदेशका साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले वर्षा र हावाहुरीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको छ । आवश्यक तयारी गर्न र असरबाट जोगिन सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुकासाथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागकाे माैसम आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।








