बुटवल,४ जेठ ।
आजदेखि बुटवलमा प्रथम मेयर कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका हुन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदकाे हबकाे रूपमा विकास गर्न र खेलकुदकाे माध्यमबाट पनि बुटवललाई चिनाउने उदेश्यले उपमहानगरपालिकाले खेलकुदकाे क्षेत्रमा करोडौं बजेट छुट्याउदै आएको बताए ।

पूर्वाधार विकास र खेल प्रतियोगितालाई संगसंगै लैजाने बुटवल उपमहानगरपालिकाको योजना रहेको भन्दै उनले नरेनापुरको
क्रिकेट मैदानलाई देशकै नमुना र उत्कृष्ट क्रिकेट मैदान बनाउने गरी काम अघि बढाएको बताए । ‘यो वर्ष ७५ लाख रुपैया बजेट बिनियोजन गरेका छौ ।’– उनले भने । यसैगरि थप पूर्वाधार बनाउन संघ सरकारसंग समेत ५ करोड रुपैया माग गरेको उनले बताए । यसबाहेक बुटवलमा थप २ वटा क्रिकेट मैदान आवश्यक रहने भन्दै नगर प्रमुख पाण्डेयले यो मैदान पहिलो प्राथमिकतामा राखेर तिब्र रुपमा काम अघि बढाएकाे जानकारी गराए ।

बुटवलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले उपमहानगरपालिकाले विद्यालयस्तरीय प्रतियोगितामा जाेड दिएको बताउदै उनलेे यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत गर्ने बिश्वास ब्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले उपमहानगरपालिकाले विद्यालयस्तरीय प्रतियोगितामा जाेड दिएको
भन्दै बिभिन्न खेल प्रतियोगितासँगै खेलकुद पुर्वाधार विकासमा पनि करोडौं लगानी गरेको बताइन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पियाले पछिल्लोसमय विद्यालय स्तरमा खेलकुद शिक्षक राख्ने परिपाटीकाे विकास भैरहेको भन्दै यसबाट खेलकुदकाे विकासमा महत्वपुर्ण टेवा पुग्ने बिश्वास ब्यक्त गरे । हरेक ब्यक्ति खेलमा आवद्घ भएमात्र खेल बुझ्न सकिने भन्दै उनले विद्यालयस्तरीय प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भुमिका रहने बताए । क्रिकेटप्रति युवाहरूको क्रेजलाई मध्येनजर गरि युवा खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता गर्न लागेको भन्दै उनले आगामी दिनमा एकेडेमी संचालन गरेर खेलाडी उत्पादनको तयारीमा लागेको जानकारी गराए ।

साे अवसरमा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना,नगर खेलकुद विकास समिति सदस्य शेरजङ गुरूङलगायतले प्रतियोगिताको उदेश्य र लक्ष बारे आ आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ३० हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक सरोजसिहले बताए । प्रतियोगितामा म्यान अफ द सिरिज ८ हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई जनही ५ हजार रुपैया, मेडलबाट प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रति खेलाडी १ लाख रुपैया बिमा र क्यानको समन्वयमा प्राविधिक पक्षलाई अघि बढाईएको उनले बताए । जेठ ९ गतेसम्म संचालन हुने प्रतियोगितामा संस्थागत १० र सामुदायिक ७ गरि १७ टिमकाे सहभागीता रहेको नगर खेलकुद विकास समिति,प्रचारप्रसार उपसमिति संयोजक सुनिता गिरीले जानकारी दिइन् ।
होराइजनकाे बिजयी शुरुवात
प्रथम मेयर कप विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता २०८२ मा न्यू होराईजन बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ ।

आईतबार भएको उद्घाटन खेलमा न्यू होराईजनले गार्गी एकेडेमीलाई १११ रनले बिशाल अन्तरले पराजित गरेको हो ।

नरेनापुर क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेकाे न्यू होराईजनले निर्धारित १५ ओभरमा १४६ रनको लक्ष्य खडा गरेको थियो । खराब शुरुवात गरेको होराईजनका मध्यम क्रममा ब्याटरहरु टिक्दा खेलमा जित निकाल्न सफल भयो । छैटौ नम्बरमा मैदान छिरेका सिद्धार्थ ढकालले खेलमा अर्धसतकिय पारी खेलेका थिए । उनले चार चौका र चार छक्काको मद्यतले १९ बलमा ५२ रन जोडे । सातौ नम्बरमा ब्याटर समिर ठकुरीले २० रनको योगदान दिए । गार्गी एकेडेमीका शिभया दर्लामीले ३ तथा अप्सन जिसी र आयुष खत्रीले समान २–२ बिकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको गार्गी ७.५ ओभरमा केवल ३५ रनमा समेटियो । ओपनर सुजल बश्यालले १० तथा अप्सन बिक्रम जिसीले २१ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । गार्गीलाई कम स्कोरमा रोक्न होराईजनका प्रिन्स पालले ४ तथा शुभम पाण्डेले ३ बिकेट लिए । साे खेलमा न्यू होराईजनका प्रिन्स पाल प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।