मन्त्रीहरूले संसदमा भिडिओ गेम खेल्ने गरेको आरोप
काठमाडौ,४ जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले
संसद् बैठकलाई भ्रामक र निरस ठाउँको रुपमा चित्रण गरेकी छन् ।
आइतबार बसेकाे प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको भन्दै संसद्जतिको निरस ठाउँ अरु नरहेको बताएकी हुन् ।
मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाउदै सांसद कार्कीले आफु बोल्ने तर अरूले बोलेका कुराहरू नसुन्ने ठाउँ संसद् रहेको टिप्पणी गरिन् । सरकारले जनतालाई सांसदहरुमार्फत् ढाँट्ने गरेको पनि उनलेे बताइन् ।
उनलेे भनिन्-‘मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, उठेर हिँड्नुहुन्छ ।’
संसदमा मन्त्री र सांसदहरूकाे गतिविधि बारे टिप्पणी गर्दै उनलेे भनिन्- ‘संसद् ढाँट्ने थलो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरस ठाउँ त केही पनि छैन । यहाँ बोलिँदो रहेछ, बोलेका कुराहरू सुनिँदो रहेनछ । यहाँ कुर्सीहरू खाली हुँदा रहेछन्,’ सांसद कार्कीले भनिन्, ‘सरकारले जहिले पनि जनतालाई सांसदहरूको मार्फतबाट ढाँट्दो रहेछ । यो बजेट बनिसक्छ । मन्त्रालयगत बजेटको बाँडफाँड भइसक्छ, सम्माननीय राष्ट्रपतिबाट नीति तथा कार्यक्रम आउँछ । नाटक हुन्छ त्यहाँ पनि । हामी संशोधन हाल्छौँ, गम्भीर हुन्छौँ ।’
मन्त्रालयगत बजेटको बाँडफाँड भइसकेपछि राष्ट्रपतिबाट नीति तथा कार्यक्रम ल्याउने नाटक गरिएको उनले बताइन् ।






