काठमाडौं,४ जेठ ।
आज सातै प्रदेशमा हावाहुरीसहित बर्षाकाे सम्भावना रहेको
मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागकाे माैसम आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ । पहाडी भूभागका केही स्थानमा तथा अन्य भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मधेस, कोशी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रका केही स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसम बदलीका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । विशेष गरी हावाहुरी र चट्याङ्गबाट बच्न आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।

हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।