काठमाडौं,३ जेठ ।
विकासशील तथा साना गरिब राष्ट्रमा जलवायु परिवर्तनले हुने हानी नोक्सानीको क्षतिपूर्ति प्रक्रिया सहज बनाउनुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
शनिबार राजधानी काठमाडौंमा आयोजित सगरमाथा संवाद कार्यक्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे छलफल गर्दै विज्ञहरूले उक्त कुरामा जाेड दिएका हुन् ।
छलफलका प्रमुख वक्ता हानी नोक्सानी सम्बोधन कोषका कार्यकारी निर्देशक इब्राइम शेख डियोङले जलवायु परिवर्तनसँग लड्न विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए । उनले प्रभावित देश र नागरिक समाजको सक्रियताले मात्र दिगोपनाको सम्भावना हुने धारणा राखे । प्रभावित देशका सरकारहरूलाई सशक्त बनाए मात्रै कोष परिचालनमा सजिलो हुने उनको तर्क छ ।
संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमका जोखिम व्यवस्थापन विज्ञ राजेश शर्माले जलवायु परिवर्तनको कारणले हुने गैर-आर्थिक हानि नोक्सानीको लेखाजोखा महत्वपूर्ण भएको बताए । आर्थिक हानि झैं स्पष्ट नदेखिने र नापतौल गर्न कठिन भएकाले यसको लेखाजोखाका लागि छुट्टै विधि आवश्यक रहेको उनको भनाइ छ ।
इसीमोडका सल्लाहकार अरुणभक्त श्रेष्ठले नेपालजस्ता पहाडी देशमा बाढी, पहिरो र हिमताल विष्फोटजस्ता समस्याले विकराल असर पारिरहेको औँल्याए । भारत र ब्राजिलका विज्ञहरूले साना समुदायहरूको क्षतिपूर्ति पहुँचमा सहजीकरण गर्नुपर्ने धारणा राखे ।








