हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति
बुटवल,३ जेठ ।
हावाहुरीका कारण पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशका तीनसहित चार जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । शुक्रबार आएको भीषण हावाहुरीका कारण ४ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएकाे प्रहरी प्रधान कार्यालयले जनाएको छ । त्यस्तै हावाहुरीका कारण घर र सवारीसाधनमा समेत क्षति पुगेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट,नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु,नवलपरासीकै ४० वर्षीय दुर्गा बहादुर पुन र बाराकी ५४ वर्षीया रम्भा देवी धानुक रहेका छन् ।

हावाहुरीका कारण ६ वटा घर र २ वटा गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए ।

प्रहरी प्रवक्ता थापाका अनुसार हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४.४ मेगाहर्जको टावरमा समेत क्षति पुर्‍याएको छ । टावर ढलेपछि सो रेडियोको प्रसारण रोकिएको छ ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ । हिजो देशभर १८ ठाउँमा आगलागी र ५९ ठाउँमा चट्याङ परेकाले विपद् घटनाको बिवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।