बुटवल,२ जेठ ।
हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ ।

मृत्युु हुनेमा सुनवल ७ निवासी ३० वर्षिया मिरा बयम्बु र सोही वडाका ४० वर्षिय दुर्गाबहादुर पुन रहेका छन् ।

शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मानवीय क्षती भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।

यसैगरी शुक्रबार बिहान कैलालीमा पनि हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो ।