बुटवल,१ जेठ ।
बोकाको मासु भन्दै झुक्याएर बाख्राको मासु बिक्री वितरण गरेको आरोपमा बुटवलका एक मासु व्यवसायी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुटवल उप–महानगरपालिका–१ जितगढीका ३४ वर्षीय मेराज शाह रहेका छन् ।
उनले विभिन्न स्थानबाट बाख्रा खरिद गरि घरमैं काटेर मासु पसलमा लगेर घरमै काटेको खसीबोकाको मासु हो भन्दै झुक्याएर बिक्री गर्दै आएको प्रहरीको आरोप छ । यसबारे सूचना प्राप्त भएपछि उनको घरमा पुगेको ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले घरमै बाख्रा काटेर भुत्ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीले जानकारी दिए ।
यस्तै काटेर फालिएका बाख्राका विभिन्न अंगहरुसमेत फेला परेको उनको भनाइ छ ।
उनको घरबाट प्रहरीले ३ वटा बोरामा काटेर टुक्रा बनाएर राखेको ४१ किलो मासु पनि बरामद गरेको छ । शाहमाथि कालो बजारी तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुरमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।







