काठमाडौं,३१ बैशाख ।
आज केही प्रदेशमा चट्याङ्गसहित वर्षा हुनुका साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा हावाहुरीकाे सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागमा माैसम मुख्यतया सफा देखि आंशिक बदलीको सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र अन्य पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने महाशाखाको प्रक्षेपण छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा अन्य पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको छ ।








