मिश्रले भने-“धवल शमशेरलाई जस्तै आफुलाई पनि रिहा गरे के बिग्रिन्थ्याे श्रीमान् ?”
काठमाडौ,३० बैशाख ।
काठमाडौंकाे तिनकुने घटनाकाे अनुसन्धानका लागि पक्राउ परेका
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र,मेडिकल ब्यवसायी दुर्गा प्रसाईंसहित २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासले ४७ दिन हिरासतमा बसिसकेका मिश्रलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
चैत १५ को तीनकुनेको राजावादीको हिंस्रक प्रदर्शनको नेतृत्वकर्ताहरू मिश्र, दुर्गा प्रसाईं, उनका सहयोगीहरू र शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतसहितलाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । ५ दिनअघि उनीहरूलाई आपराधिक उपद्रवको कसुरमा थालिएको छ ।
संगठित अपराध समेतको कसुरमा अनुसन्धान भइरहेकोले प्रहरीले ६० दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न पाउने कानुनी ब्यवस्था छ ।
अन्य ३४ जनामाथि पनि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच म्याद थपका लागि अदालत लगिएका मिश्रले आफूसँगै पक्राउ परेका राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य धवल शमशेर जबरालाई रिहा गरिएको प्रसङ्ग उल्लेख गर्दै आफुलाई पनि त्यसरीनै रिहा गरे के बिग्रिन्थ्याे श्रीमान् भनि न्यायाधीशसँग प्रश्न गरे ।
‘धवल शमशेरलाई केही दिनपहिले नै छाडिएको छ। उहाँलाई जस्तै मलाई पनि छाड्दा मैले के बिगार्छु श्रीमान्? अब के प्रमाण नष्ट हुन्छ र? मोबाइल सबै उहाँहरूले नै लगिसक्नु भएको छ। त्यसबाहेक के प्रमाण छ र उहाँहरूसँग? फरक विचारकै आधारमा यस्तो अत्याचार नागरिकले भोगिदिनु पर्ने?’
तर सरकारी वकिलले भने त्यसअघि नै यो मुद्दाका सबै प्रमाण डिजिटल भएकाले उनीहरूलाई थुनामुक्त गरे असर पर्ने बताएका थिए। उनले अहिले थप गरिएको म्यादभित्र पनि अनुसन्धान नसकिए फेरि म्याद लिने बताइसकेका छन् । अझै अनुसन्धान गरेर प्रमाण जुटाउन पर्ने थुप्रै विषय रहेको सरकारी वकिलको भनाइ छ ।
यस्तै तीनकुने घटनाको नेतृत्व गरेका दुर्गा प्रसाईंले पनि यो मुद्दामा विभेदपूर्ण ढंगबाट अनुसन्धान भइरहेको बताए । उनले पनि एमाले र कांग्रेसका कार्यकर्तालाई भने छाडिएको बताए। उनले पक्राउ परेर पनि छुटेका एमाले कांग्रेसका कार्यकर्ता भएको दाबी गरे ।
तर सरकारी वकिलले भने ती छुटेका व्यक्तिहरू थुनाबाहिर राखेर पनि अनुसन्धान गर्दा फरक नपर्ने व्यक्ति भएको र जसलाई थुनामै राख्नु पर्ने हो उनीहरूलाई मात्रै थुनामा राखिएको बताएका छन् ।
प्रसाईंले भने आफू २० वर्ष जेल बस्न पनि तयार रहेको तर आफ्ना सहयोगी, सवारी चालकलाई पनि पक्राउ गरेर अन्याय गरेको बताए ।
तीनकुने घटनामै संलग्न रहेको आरोपमा अरु ३४ जना पनि हिरासतमा छन् । उनीहरूलाई यसअघि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता मिश्रलाई चैत १५ गते बेलुका नै प्रहरीले पक्राउ गरेको थियो ।