प्रधानमन्त्रीकाे मन्तब्य पनि छाेटाे
बुटवल,२९ वैशाख ।
गाैतम बुद्वकाे जन्मस्थल लुम्बिनीमा आयोजित बुद्ध जयन्ती मूल समारोह खल्लो भएको छ ।

एक करोड खर्चेर प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा लुम्बिनीमा आयोजित बुद्वजयन्ती मूल समारोहमा दर्शक दिर्घाका अधिकांश कुर्सी खाली देखिएका कारण कार्यक्रम खल्लो भएको हो ।
५ हजार क्षमताको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए । दर्शकको अत्यन्तै न्युन उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भएकाे स्थानीयकाे भनाइ छ ।
दर्शक दिर्घाका अधिकांश कुर्सी खाली देखिएपछि प्रधानमन्त्री ओलीकाे मन्तव्य पनि छाेटाे भयो ।
आयोजक लुम्बिनी विकास काेषले स्थानीय समुदायसँग समन्वय गर्न नसकेका कारण गाैतमबुद्वकाे जन्मस्थलमै आयोजित बुद्वजयन्ती मूल समारोहमा स्थानीयकाे सहभागीता अत्यन्तै न्युन भएको सराेकारवालाले बताए ।
पछिल्लो समय लुम्बिनी विकास काेष र स्थानीयबीचकाे दुरी बढ्दै गएकाले पनि कार्यक्रममा स्थानीयकाे उपस्थिति कम भएको बताइएको छ ।
लुम्बिनी विकास काेष लुम्बिनी विकास गुरूयाेजना बिपरितका काम गरेको भन्दै स्थानीयहरूले संघर्ष समितिनै गठन गरेर लुम्बिनी बचाउ अभियानमा लागेका छन् ।
त्यसाे त बुद्धजयन्ती कार्यक्रम बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काेषका पदाधिकारी तथा कर्मचारीहरूले आफु निकटका पत्रकारहरूलाई मात्रै बाेलाएकाे पत्रकार बृत्तमा चर्चा छ ।
हलको अघिल्लो लहरमा केही व्यक्तिहरु सहभागी भए पनि पछाडितिर कुर्सीहरु खाली थिए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक लगायतको सहभागीता रहेको थियो ।






