बुटवल,२७ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीलाई कारबाही गरेर भैरहवा र पोखरा विमानस्थल नियमित चलाउनुपर्ने बताएका छन् ।

शनिबार भैरहवामा आयोजित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले गरेको छलफलमा बोल्दै अध्यक्ष लिङ्देनले उत्साह बाँडेर एयरपोर्टको योजना ल्याउँदै ४१ अर्ब ऋणको भारी बोकाएको आराेप लगाए ।

‘नचल्ने एयरपोर्ट कसले बनायो ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘एयरपोर्ट पनि चल्नु पर्छ र तिनीहरुलाई कारवाही पनि हुनुपर्छ ।’

उद्घाटन भएको ३ वर्ष हुँदा पनि किन सञ्चालन आएन भन्ने कुराको उठानले नै छानबिन समिति बनेर अनियमितता र कसरी सञ्चालन गर्ने कुराको विषयमा काम हुने उनले बताए ।

पोखरा विमानस्थल छानबिन समितिको उपसंयोजक समेत रहेका सार्वजनिक लेखा समितिको सदस्य लिङ्देनले भैरहवा विमानस्थलबारे बनेको उपसमितिका संयोजकमाथि प्रश्न उठेकोमा आपत्ति जनाएका छन् । नयाँ संयोजक तोकेर उपसमितिको काम अघि बढाउनुपर्ने लिङ्देनको भनाइ छ ।

उनलेे व्यवसायिक योजना नै नबनाई ४१ अर्बको ऋणको भार लिएर विमानस्थल बनाउनुका पछाडि कमिशन खाने र भ्रष्टाचार गर्ने योजना बाहेक केही नभएको दाबी गरे ।