बुटवल,२७ बैशाख ।
हरेक पालिकामा फार्मासिष्टको दरवन्दी अनिवार्य गर्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।

उनिहरूले जहाँ औषधि त्यहाँ फार्मासिष्ट भन्ने नारालाई साकार पार्न हरेक पालिकामा फार्मासिष्टको दरवन्दी अनिवार्य गर्नुपर्नेमा जोड दिए ।

शनिबार बुटवलमा आयोजित नेपाल फार्मेसी संघ रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फार्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फार्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फार्मासिष्टको दरबन्दी अनिवार्य गर्न उनिहरूले माग समेत गरे ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका लागि फार्मेसी नै पढेको हुनुपर्ने प्रावधान विस्तारै बढ्दै गएको बताए । उनले हरेक पालिकाले कम्तिमा एकजना फार्मासिष्ट राख्नैपर्ने नीति आवश्यक रहेको बताउँदै त्यसका लागि संघले संघीय सरकारसंग पहल गर्नुपर्नेमा जाेड दिए ।

बुटवल उपमहानगरपालिकाका १९ वटा वडा मध्ये १८ वटा वडामा करारमै भएपनि फार्मासिष्ट राखिएको बताउँदै नगर प्रमुख पाण्डेयले दरवन्दी नहुँदा स्वास्थ्यका क्षेत्रमा धेरै समस्या भोग्नुपरेको बताए ।

उनलेे स्थानीय सरकारका जनप्रतिनीधिहरुले करारमा राखिएका कर्मचारी हटाउँदा प्रतिसोध साध्यो भन्ने आराेप लाग्ने र नहटाउँदा वेरुजु धेरै भयो भन्ने अपजसको भारी बोक्नु परेको गुनासो गरे ।

हाल फार्मेसी पढेको दक्ष जनशक्तिको कमी नरहेको बताउँदै उनलेे फार्मासिष्ट व्यवस्थापनका लागि एउटा विधि बनाएर औषधिको विक्रि वितरणका लागि अनिवार्य फार्मासिष्टको उपस्थिती हुनुपर्ने ब्यवस्थालाई कडाइका साथ लागु गर्नुपर्नेमा जाेड दिए ।

बुटवल उपमहानगरपालिकामा पेचिलो बनेको विज्ञापन करका विषयमा आगामी वर्षदेखि त्यसमा कुनै समस्या नआउने गरी गृहकार्य भइरहेको जानकारी गराए । आगामी वर्ष बुटवल उपमहानगरपालिकाले राजश्वको दर नबढाउने नीति लिएको बताउँदै उनलेे विज्ञापनका दायरा विस्तार गरिने बताए ।

कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले औषधि पसल सञ्चालनका लागि अनिवार्य रहेको फार्मेसी लाईसेन्स अरुको लिएर पसल सञ्चालन गर्ने विकृति रहेको बताउँदै उक्त विकृति हटाउन आफूहरु प्रतिवद्ध रहेको र नियमन तथा अनुगमनको पाटोलाई पनि कडाईका साथ अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

त्यसैगरी फार्मेसी संघका कन्द्रीय महासचिव युवराज भुसालले औषधि हुने सबै ठाउँमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिँदै फर्मासिष्टले व्यापार व्यवसाय भन्दा पनि नागरिक सेवालाई प्राथमिकता दिनुपर्नेमा जाेड दिए ।

त्यस अवसरमा नेपाल फार्मेसी संघका अध्यक्ष गणेश सेढाईले सबै पालिकामा कम्तिमा एकजना फार्मासिष्ट अनिवार्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि संघले संघीय सरकारसंग पहल गर्नुपर्ने बताए । त्यसका लागि संघले जिल्ला शाखाहरुको समेत राय सुझाव लिएर काम गर्न उनलेे आग्रह गरे । विना दर्ता गैरकानुनी रुपमा सञ्चालित औषधी पसल (फार्मेसी) का कारण दर्ता गरेर बैध रुपमा सञ्चालित औषधि पसलहरुमा समेत समस्या सिर्जना हुने गरेको भन्दै उनलेे नियमन तथा अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा औषधी व्यवसायी संघका पूर्वकेन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका संस्थापक अध्यक्ष ध्रुवकुमार शर्मा, औषधी व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष नारायण थापा, मायाँदेवी टेक्निकल कलेजका प्रवन्ध निर्देशक चिरञ्जिवी जोशी, संघका लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, कपिलबस्तु अध्यक्ष डा.बिक्रम घिमिरे, रुपन्देहीका उपाध्यक्ष चोकलाल सापकोटा, सचिव उदयबहादुर खत्री लगायतले आ आफ्नो भनाई राखेका थिए ।

साे अवसरमा संघको संस्थागत विकासमा योगदान गरेका सल्लाहकार तथा कार्यसमितिका पदाधिकारी सदस्यहरुलाई सम्मान गरिएको थियो ।