नवलपरासी,२७ बैशाख ।
नवलपरासी जिल्लाका नवआगन्तुक प्रहरी प्रमुख र राजनीतिक दलका जिल्ला प्रमुख तथा प्रतिनिधिहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

हालै सरूवा भई नवलपरासी आएका नयाँ प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ र राजनीतिक दलबीच शुक्रबार जिल्लाकाे सुरक्षा अवस्था बारे परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा राजनैतिक दलमा प्रमुख तथा प्रतिनिधिहरुले खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट हुने तस्करी, नदीजन्य पद्धार्थको दोहन र लागु औषध सेवन तथा ओसारपसार जस्ता कार्य नियन्त्रण गर्नुपर्नेमा जाेड दिएका थिए ।

सो अवसरमा नेपाली काँग्रेसका कार्यबहाक सभापति बिक्रम यादव र एमाले जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले प्रहरीले चाल्ने हरेक उचित कदममा आफूहरुको साथ रहने बताए ।

बिपक्षी दल नेकपा(माओवादी केन्द्रका जिल्ला संयोजक रामानन्द यादव र रास्वपाका सभापति महेन्द्र सिं ठकुरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने काममा आफूहरु सधै साथमा रहने प्रतिवद्वता ब्यक्त गरे ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा आफ्नो पार्टीको आन्दोलन जारी रहेको जानकारी गराउदै पार्टीले लघुबित्त तथा मिटर ब्याज र सहकारी पीडितको पक्षमा आवाज उठाउने बताए ।

भष्ट्राचार र कमिशनखोरीको बिरुद्ध पार्टीले शान्तिपुर्ण आन्दोलन गर्दै आएको भन्दै उनले संबिधान प्रदत्त अधिकार अनुरूपका कार्यक्रममा समेत प्रहरीले हस्तक्षेप गर्ने गरेको गुनासो गरे ।

प्रि–मनसुन शुरु भइसकेको चर्चा गर्दै उनलेे दाउन्ने मार्गमा यात्रुहरुले सास्ती बेर्होनु परेकोले सडक सम्बन्धि जानकारी दिन सुचना केन्द्र स्थापना गर्न सुझाव दिए ।

कार्यक्रममा जसपामा जिल्ला अध्यक्ष धरेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कुमार आले, नेकपा (माले)का भरत पाण्डेय लगायतले दुई चार किलो मल बीउ लिन भारत जाने कृषकहरुलाई प्रहरीले सास्ती दिने गरेको भन्दै किसानहरूलाई दुख दिन छाडेर तस्करहरुलाई पक्राउ गर्न आग्रह गरेका थिए ।

साे अवसरमा नवआगन्तुक प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले दलहरुको सहकार्यबाट मात्र अपराध न्युनीकरण गर्न सकिने भन्दै जिल्लामा शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न आग्रह गरे ।