आगामी आर्थिक वर्षका लागि प्रदेशको नीति तथा कार्यक्रम
जेठ ४ गते प्रस्तुत गर्ने निर्णय

बुटवल,२६ बैशाख ।
लुम्बिनी प्रदेशसभाको छैंटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान भएको छ ।

प्रदेश सरकारकाे सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनी प्रदेशसभाको छैंटौँ अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेश सभा सचिवालयले बिहीबार एक सुचना जारी गरी नेपालकाे संविधानकाे धारा १८३ काे उपदफा (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले लुम्बिनी प्रदेस सभाको छैंटौँ अधिवेशन वैशाख ३१ गते बुधबार दिनको १ बजे बस्नेगरी आह्वान गरेकाे जानकारी गराएको हो ।

यसअघि बुधबार बसेकाे प्रदेश मन्त्रीपरिषदको बैठकले बैशाख ३१ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको छैंटौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

अधिवेशन आह्वानसँगै प्रदेश सरकारले जेठ ४ गते प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशन गत फागुन ७ गते अन्त्य भएको थियो । गत पुस १६ गतेदेखि सुरु भएको पाँचौं अधिवेशनमा ११ वटा बैठक बसेका थिए । साे अधिवेशनबाट प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो ।

त्यस्तै प्रदेश सभाको चौथो अधिवेशनबाट पारित भएर प्रदेश प्रमुखबाट फिर्ता पठाएका प्रदेश निजामती सेवा ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन तथा सेवाका सर्तसम्बन्धी विधेयक पनि पाँचौँ अधिवेशनले पुनः पारित गरेको थियो ।