बुटवल,२५ बैशाख ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले सराेकारवालाहरूकाे राय सुझाव एवम् देश र सडकको अवस्थालाई मध्यनजर गरी ट्राफिक ब्यवस्थापन गरिने बताएका छन् ।
बुटवल स्थित लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयमा हालै सरूवा भई आएका प्रहरी उपरीक्षक शर्माले बिहीबार पत्रकारहरूसँगकाे परिचयात्मक तथा ट्राफिक ब्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
प्रचलित कानुनको अधिनमा रही मुलुक र सडकको अवस्था सामाजिक मनाेविज्ञान एवम् सराेकारवालाहरूकाे राय सुझावलाई मध्यनजर गरेर प्रदेशको ट्राफिक ब्यवस्थापन सम्बन्धि नीति बनाउने उनको भनाइ छ ।
कार्यक्रममा पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पाण्डे,महासंघका पुर्व अध्यक्ष शेरबहादुर केसी,भरत केसीलगायतका पत्रकारहरूले यस क्षेत्रकाे सडक सुरक्षा तथा ट्राफिक ब्यवस्थापनमा देखापरेका चुनाैती तथा समाधानका उपायबारे आ आफ्नो सुझाव दिएका थिए ।
पछिल्लो समय ट्राफिक प्रहरी राजश्व संकलनमा केन्द्रित भएको हो कि भन्ने भान हुन थालेको भन्दै उनिहरूले राजश्व संकलनमा भन्दा कानुनको परिपालना गराउने तर्फ लाग्नुपर्नेमा जाेड दिए ।
ट्राफिक प्रहरीले गलत मनसायबाट भारतीय पर्यटकहरूलाई अनावस्यक दुख दिने गरेको,टिप्पर आतंक नियन्त्रणमा चासो नदेखाएको,चेकजाँचका नाममा छाेटाे दुरीमा सवारीसाधन राेकेर दुख दिने गरेका गुनासाहरू आउने गरेको भन्दै पत्रकारहरूले आगामी दिनमा त्यस्ता गुनासा नआउने गरी काम गर्न सुझाव दिए ।







