काठमाडौँ,२५ बैशाख ।
राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन
समितिले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेकाे छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने’ घोषणा गरेका हुन् ।
आन्दोलनको संयोजन राजसंस्था पुन:स्थापनाका लागि गठित सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिमार्फत नै हुने पनि बताइएको छ ।
आन्दोलन शान्तिपूर्ण,भद्र अवज्ञा र सत्याग्रह प्रकृतिको हुने पनि संयोजक सुवेदीले बताए । उनले भने, ‘हाम्रो आन्दोलन कुनै दल वा सरकारका विरुद्ध होइन । निरकुंशता र सर्वसत्तावादको अन्त्य गरी तथा जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ तुल्याई जनतालाई व्यवहारिक रूपमा देशको मालिक भएको अनुभूति दिलाउनु आन्दोलनको मुख्य ध्येय हुनेछ ।’
त्यस्तै समितिले गत चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेता कार्यकर्ताहरूकाे रिहाइकाे माग समेत गरेको छ ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,राप्रपा नेपालका अध्यक्ष कमल थापा,राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्ट,नेपाली कांग्रेस ( बीपी ) का महामन्त्री देवेन्द्रप्रकाश पाैडेललगायत राजावादी अगुवाहरूकाे सहभागीता रहेको थियो ।
२०७२ सालको संविधान र दलीयतन्त्रका कारण देश असफलतातर्फ उन्मुख भइसकेको निष्कर्ष निकाल्दै नवराज सुवेदी नेतृत्वको जनआन्दोलन परिचालन समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
यसअघि चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाको मृत्यु भएको थियो ।
तीनकुने घटनापछि आन्दोलन शिथिल जस्तो देखिए पनि पुनः
दाेस्राे चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ ।






