बुटवल,२४ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालीका वडा नं १४ मा महिलाहरुका लागि नेतृत्व विकास तथा सार्वजनिक बोल्ने कला तालिम सुरु भएको छ ।

उक्त तालिमको बुधवार उद्घाटन गर्दै नगर प्रमुख रामकृष्ण खांणले महिला सक्षम भए घर, परिवार र समाज नै सक्षम हुने भएकाले यस्ता तालिमलाई प्राथमिकता दिएको बताए । महिलाले आफु सुन्दर हुन राम्रा कपडा, गहना पहिरिएर सुन्दर देखिएझैं महिलाहरुको बोल्ने कलाको विकास पनि सोही सरह भयो भने अघि बढ्न र हरेक जिम्मेवारी कुशलतापुर्वक निर्वाह गर्न सफल हुने नगर प्रमुख खांणको कथन थियो ।

प्रमुख खांणले नगपालीका महिला, बालबालिका तथा हरेक नागरिकको विकासका लागि कार्यक्रम गरेर अघि बढीरहेकाले यो तालिम पश्चात नेतृत्व तहमा आवज उठाउनेगरि महिला सहभागिता हुनुपर्ने कुरामा जोड दिए ।

त्यस्तै वडा नम्बर १४ का अध्यक्ष आश्बिन पौडेलले महिलाकै क्षेत्रमा २० औं वर्ष काम गरेपछि आफु राजनीतिक धारमा प्रवेश गरेकाले महिलामाथि हुने हिंसा, उनीहरुलाई गरिने व्यवहार परिवर्तनका लागि नेतृत्व विकास र बोल्ने कला जरुरी रहेको बताए ।

कार्यक्रममा सामाजिक डिभिजन कार्यालयका प्रमुख हरि विष्टले महिला अघि बढ्ने र क्षमता विकास गर्ने विषयमा कार्यालयले सहयोगी भुमिका निर्वाह गर्ने बताए ।

महिला नेतृत्व मंचकी अध्यक्ष बाला घिमिरेले आफुहरुले यस खालका कार्यक्रम गरि महिलाको विकासमा सहयोगी भुमिका खेल्न चाहेको बताइन् ।

महिला नेतृत्व मंच तिलोत्तमाको आयोजना र सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोगमा सुरु भएको एकहप्ते तालिममा वडाका ६० महिलाको सहभागि रहेको बताइएको छ ।