बुटवल,२४ बैशाख ।
रूपन्देहीको सियारी गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अरूणकुमार शाहीले स्थानीयमाथि कुटपिट गरेको गुनासो आएको छ ।

गाउँकाे सडक कालाेपत्रे गर्ने क्रममा ठूला सवारीसाधन आवतजावतमा अबरोध गरेको बिषयलाई लिएर वडा अध्यक्ष शाहीले स्थानीय अम्बर बहादुर पुनलाई कुटपिट गरेको पिडित पुनले गुनासो गरे ।
सियारी गाउँपालिका वडा नं १ काे कैलासनगरमा कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा प्राविधिककाे सुझावअनुसार ठूला सवारीसाधन आवागमन बन्द गरेको अवस्थामा बुधबार दिउँसो एक दाना उद्योगकाे सामान लिएर आएको भारतीय नम्बर प्लेटकाे ट्रकलाई स्थानीयले राेकेपछि त्यहाँ पुगेका वडा अध्यक्ष शाहीले आफुमाथि मुक्का र काठको दाउराले प्रहार गरेको उनलेे बताए ।
प्राविधिककाे सल्लाह अनुसार सडकको सुरक्षाका लागि ठूला सवारीसाधन आवतजावतमा स्थानीयले राेक लगाएको भन्दै पिडित पुनले कालोपत्रे गर्न ठिक्क पारिएको सडकमा भारतीय मालबाहक ट्रक गुडाउन नदिएको बहानामा जनप्रतिनिधिले जनतामाथि कुटपिट गर्नु ठूलो अपराध भएको दाबी गरे ।
एक भारतीय गाडीका लागि जनप्रतिनिधिबाट स्थानीयमाथि कुटपिट गर्नुले आफु अन्यायमा परेको उनको गुनासो छ ।
जनप्रतिनिधिले गर्नुपर्ने काम स्थानीयले गर्दा प्राेत्साहन गर्नुपर्नेमा उल्टै कुटपिट गरिनु दुखद भएको स्थानीयकाे भनाइ छ ।






