पोखरा,२४ बैशाख ।
पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्षले कर्मचारी र व्यवसायीमाथि हातपात गरेकाे भन्दै कर्मचारी र ब्यवसायी आन्दोलित भएका छन् । अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार आफुमाथि हातपात गरेको भन्दै व्यवसायी लेखनाथ सुवेदीले प्रहरीमा उजुरी दिएका छन् ।

पाेखराकाे सर्वेश्वर मार्गमा व्यवसाय गर्दै आएका सुवेदीलाई हातपात गरेपछि अध्यक्ष पराजुली सम्पर्क विहीन भएका छन् । फुटपाथमा सामान राखेको भन्दै उनी व्यवसायीमाथि जाइलागेका हुन् । व्यवसायीहरूले पराजुलीमाथि कडा कारबाहीको माग गरेका छन् ।

व्यवसायीहरूले मङ्गलवार नै वडा नम्बर ४ को कार्यालय घेरेर नाराबाजी गरेका थिए । कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले उजुरी प्राप्त भएको पुष्टि गरे । अध्यक्ष पराजुलीले मंगलबारै पोखरा महानगरका अधिकृत ईश्वरी पोखरेलमाथि पनि हातपात गरेकाे महानगरले जनाएको छ ।

महानगरका विभिन्न कर्मचारी सङ्घ सङ्गठनले विज्ञप्ति निकालेर घटनाको सत्य तथ्य छानबिन सहित दोषीलाई कारबाहीको माग गरेका छन् । पोखरेलको कठालो समातेर प्रमुख प्रशासकीय अधिकृतकै कार्यकक्षमा कुटपिट भएको एक कर्मचारीले बताए ।

स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष अमिर भण्डारी, स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष रेशम जिसी, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष नेत्रप्रसाद तिमिल्सिना र एकीकृत सरकारी कर्मचारी सङ्गठनका अध्यक्ष डिल्लीराम गिरीले उपमेयर मन्जुदेवी गुरुङलाई ध्यानाकर्षण पत्र बुझााउदै दोषीमाथि कारबाहीको माग गरेका छन् ।

घटनाको भर्त्सना गर्दै कर्मचारीहरूले दोषीलाई कारबाही नगरे काम बन्द गरेर संघर्षमा उत्रिने चेतावनी दिएका छन् । ‘घटनामा संलग्न व्यक्ति उपर २४ घण्टाभित्र कानुन बमोजिम कारबाही गर्न ध्यानाकर्षण गर्दछौँ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा वैशाख २४ देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प पारी आन्दोलनका कार्यक्रम अगाडि बढाइने जानकारी गराइन्छ ।’