बुटवल,२२ बैशाख ।
आज लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सोमबार पनि सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना कायमै रहेकाे छ ।

महाशाखाका अनुसार अहिले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीको अवस्था छ । लुम्बिनीका केही स्थान, सुदूरपश्चिमका थोरै स्थान र कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेकोले त्यसले दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पार्न सक्ने महाशाखाको भनाइ छ । त्यसैकारण आवश्यक सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन महाशाखाले आग्रह गरेको छ ।

देशमा हाल पश्चिमी वायु, स्थानीय वायु र बङ्गालको खाडीबाट प्रवेश गरिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ।