कपिलवस्तु,२१ बैशाख ।
जंगली जनावर नीलगाई मारेको आरोपमा कपिलवस्तुकाे शिवराज बाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवराज नगरपालिका २, हरहवा बस्ने ५२ वर्षका फरहान खान रहेका छन् ।

जिल्लाकाे महाराजगन्ज नगरपालिका-६, सानो बुटहनीयामा
शनिबार राति १ बजेतिर गोली पड्किएको आवाज सुनेपछि
गाउँलेले प्रहरीलाई खबर गरेको र स्थानीय उदयपुर प्रहरी चौकीबाट खटिएको टोली गाउँको उखुबारीमा पुग्दा दुई वटा नीलगाई मरेको फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट ६ राउन्ड गोली र खोका ४ थान बरामद गरिएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए । प्रहरीले बा१७च ८९० नम्बरको हाइलक्स गाडी,यूपी३२एके ३६३० नम्बरको मारुती भ्यान, लु५०प ४१२ नम्बरको मोटरसाइकल र यूपी५५आर ६१६७ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

१०/१२ जनाकाे समुह सिकार खेल्न गए पनि प्रहरी देखेपछि नीलगाई मार्न प्रयोग गरिएको बन्दुकसहित अन्य फरार भएका थिए । पक्राउ परेका खानलाई आवश्यक कारबाहीका लागि गौतमबुद्ध डिभिजन वन कार्यालय,चन्द्रौटामा बुझाइएको प्रहरीले जनाएको छ ।