दाङ,१९ वैशाख ।
नेकपा (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने मुख्य मागहरूसहित मुख्यमन्त्री चेतनारायण आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रबार पार्टीका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) गएको प्रतिनिधिमण्डलले मुख्यमन्त्री आचार्यलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम तयार गर्दा समावेश गर्नुपर्ने ६ वुँदे माग राखेर ज्ञापनपत्र बुझाएको साे पार्टीले जनाएको छ । साे पार्टीले लुम्बिनी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन, नेपाली कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्दै औद्योगिकरणमार्फत आय–आर्जन तथा अर्थतन्त्र सुदृढ गर्ने नीति अवलम्बन गर्न माग गरेको छ ।

त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीको विशेष प्रवद्र्धन र विकासमा जोड दिन, लुम्बिनी प्रदेशभित्र रहेका खानी तथा खनिज स्रोतहरूलाई व्यवस्थित गर्दै राज्यको आयस्रोतमा टेवा पुर्याउने र प्रदेशभरीका धार्मिक क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गरी धार्मिक पर्यटनलाई प्रोत्साहन गर्ने विषयहरू पनि ज्ञापनपत्रमा उल्लेख छन् ।

ज्ञापनपत्रमा आफुहरूका मागहरूलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार गरी लुम्बिनी प्रदेशको समग्र विकासमा जोड दिन सरकारसँग अनुरोध गरिएको छ ।

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी भइरहेको जानकारी दिए ।