नवलपरासी,१९ वैशाख ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणघाट सडकखण्डमा पर्ने दुम्कीबासकाे डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार बिहान आएको बाढीले दुम्किबासस्थित वियनी खोलामा डाइभर्सन बगाउँदा बुटवल-नारायणघाट सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्बका सूचना अधिकारी मधु नेपालका अनुसार विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्माण गरिएको डाइभर्सन पनि बाढीले बगाएपछि मालवाहक तथा ठूला सवारीसाधन होङ्सी गेट तथा अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधन भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले जानकारी दिए ।