काठमाडौं,१९ बैशाख ।
सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत गर्दैछ ।
आज दिउँसो बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रयाेजनका लागि आज दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठक बाेलाइएकाे छ ।
संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने कार्यसुची तय भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार बैठकको सम्भावित कार्यसूची पहिल्यै तय भइसकेको छ । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संसदको संयुक्त बैठकमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरु हुनु अघिनै, प्रतिनिधिसभाका सांसदहरूलाई दिउँसो २ बजेर ४५ मिनेटभित्र निर्धारित पोशाकसहित आशनग्रहण गरिसक्न आग्रह गरिसकेका छन् ।
यसअघि, सत्तारूढ गठबन्धनका दलहरूबीच अर्थतन्त्रलाई गति दिने रणनीतिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भइसकेको थियो । सरकारको नीति तथा कार्यक्रमले युवाहरूमा आशा जगाउने, उद्यमशीलता र सीप विकासलाई प्रोत्साहन दिने, स्टार्टअप प्रवर्द्धन गर्ने, व्यावसायिक योजनालाई बल दिने, सरकारी खर्च वृद्धि गर्ने र सुशासन कायम गर्ने विषयहरूमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।
संघीय संसद् सचिवालयले वैशाख २२ देखि २८ गतेभित्र नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने सरकारको तयारी छ । त्यसपछि, वैशाख ३० गते प्रि-बजेट छलफलको रूपमा विनियोजन विधेयकमाथि सिद्धान्त र प्राथमिकतामाथि बहस सुरु हुनेछ ।
संविधान अनुसार जेठ १५ गते अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्ने ब्यवस्था छ ।






