काठमाडौँ,१७ बैशाख ।
नेकपा एकीकृत समाजवादीले मुलुकको आर्थिक, सामाजिकलगायत क्षेत्रमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीलाई विभिन्न मागसहितको पत्र बुझाएका हुन् ।

अपमानपूर्ण इतिहास बदल्न, राजनीतिका नालायकीबाट शिक्षा लिई बरालिएको राजनीतिलाई राष्ट्र निर्माणमा फर्काउन र लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै समृद्धि र समाजवादका आधार तयार गर्ने एउटा सार्थक राजनीतिका लागि ढिलो भइसकेको एकीकृत समाजवादीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यिनै कारणले आजको राजनीतिक अस्थिरता, अन्योल, निराशा, उकुसमुकुस र आक्रोश उत्पन्न भएको समेत ज्ञापनपत्रमा व्यक्त गरेको छ । समयको मागलाई दृष्टिगत गर्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’नाराका साथ
साे पार्टीले विभिन्न माग अगाडि सारेको छ ।

ज्ञापनपत्रमा कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पूर्वाधार, सुशासन, सामाजिक, विदेश नीति, प्रवासी श्रमिक र गैरआवासीय नेपालीलगायतका शिर्षकमा विभिन्न माग राखिएको छ । एकीकृत समाजवादीले संविधान कार्यान्वयनको पुनरावलोकन, रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन आयोजना गर्नुपर्ने लगायतका माग राखेको छ ।

शासकीय स्वरूप, सङ्घीयता, निर्वाचन प्रणाली, मौलिक हकको कार्यान्वयनलगायत सबै क्षेत्रमा संविधान कार्यान्वयनका १० वर्षको पुनरवलोकन गरेर संविधानलाई अझ समृद्ध र जनमुखी बनाउने गरी संशोधन गर्नुपर्ने मागसमेत पार्टीले गरेको छ ।

प्रधानमन्त्री ओलीलाई मागसहितको ज्ञापनपत्र बुझाएपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले जनता कुशासनको जाँतोमा पिल्सिएको भन्दै जतासुकै भ्रष्टाचार, घुसखोरी, अनियमितता र ढिलासुस्ती कारण नागरिकले सास्ती भोग्नुपरेको बताए । कुशासनले मानिसहरूलाई निकै धेरै यातना दिएको बताउँदै उनलेे कुशासनको जञ्जिरबाट नागरिकलाई मुक्त गर्नुपर्नेमा जोड दिए ।

उनले कुशासनको जाँतोमा किचिएका जनताहरूलाई त्यसबाट मुक्त गर्न राज्य, सरकार र प्रधानमन्त्री संवेदनशील हुनुपर्ने बताउँदै जनतालाई सुशासन दिनुपर्ने बताए ।

व्यापक रूपमा फैलिएको भ्रष्टाचारको जालोलाई तोडेर नागरिकलाई सुशासन, शान्ति र अमन चयनको अनुभूति गराउन आफ्नोतर्फबाट सरकारलाई सहयोग गर्ने उपाध्यक्ष ज्वालाले बताए ।

प्रधानमन्त्रीले आफूहरूका मागप्रति चासो देखाएको बताउदै उनले ती मागहरूलाई सम्बोधन गर्ने प्रतिबद्धतासमेत जाहेर गरेको बताए ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आगामी आवको सरकारको नीति तथा कार्यक्रम र बजेटको पूर्वसंन्ध्यामा सुझावहरू प्राप्त भएकामा धन्यवाद दिँदै नीति तथा कार्यक्रमको अन्तिम तयारी भइसकेकाले बजेट निर्माणका क्रममा यी सुझावलाई समेट्ने कोशिस गर्ने विश्वास दिलाएकाे पनि उनलेे जानकारी गराए ।

प्रधानमन्त्री ओलीले प्रतिगामी र अतिवादी तत्वहरूका अवाञ्छित क्रियाकलाप भइरहेको सन्दर्भमा त्यस्ता क्रियाकलापको विरोध हुनुपर्नेमा जोड दिए ।

प्रतिनिधिमण्डलमा अध्यक्ष नेपालका साथ वरिष्ठ नेता प्रवेश हमाल,वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपाध्यक्षहरू प्रकाश ज्वाला, डा गंगालाल तुलाधर,भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, सचिव सावित्राकुमारी भुसाललगायत सहभागी थिए ।