काठमाडौँ,१७ बैशाख ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् ।

कैद भुक्तानका लागि चाैधरीलाई पक्राउ गर्न सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको पत्रकाे आधिकारिकता पुष्टि नभएपछि उनि रिहा भएका हुन् ।

कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरी रिहा भएको पुष्टि गरेका छन् ।

सर्वोच्च अदालतका एक अधिकृतले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘अनधिकृत पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए ।

उक्त पत्र आधिकारिक नभएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । अनधिकृत पत्र पठाउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् ।

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको थियो ।