काठमाडौं,१७ बैशाख ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पठाएकाे पत्रमा हस्ताक्षर गर्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका छन् ।
उनलाई बुधबार दिउँसो सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । विष्टलाई जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।
विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएपछि उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
रेशम चौधरीलाई कैद गर्ने पत्र कानुनसम्मत नदेखिएपछि सर्वोच्च अदालतले अर्को पत्र पठाउने तयारी गरेको छ । त्यही पत्रका आधारमा रेशम चौधरीलाई थुनामुक्त गर्ने तयारी छ ।
सर्वोच्चबाट अर्को पत्र आए रेशम चौधरीलाई थुनामुक्त गर्ने डिल्लीबजार कारागारका जेलर पूर्णबहादुर खत्रीले बताए ।






