काठमाडौ,१७ वैशाख ।
आज पनि देशका केही ठाउँमा चट्याङसहित वर्षा हुनुका साथै केही ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग,माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली हुने छ ।
देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हुरी चल्न सक्ने महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पुर्वानुमान छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहनुकासाथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको माैसमविदकाे भनाइ छ ।








