काठमाडौँ,१४ बैशाख ।
आज मातातीर्थ औँसी जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी मनाइदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन यस पर्वलाई ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने औँसी’ पनि भनिन्छ ।
आजकाे दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरूले भने श्राद्ध गर्दै आमाको सम्झना गर्छन् ।
हाम्रो सांस्कृतिक परम्पराअनुसार यो विशेष दिनलाई आमाप्रति श्रद्धा व्यक्त गर्ने अवसरका रूपमा लिइन्छ ।
घरबाट टाढा रहेकाहरू आमाको मुख हेर्नका लागि घर पुग्ने र घर जान नपाए पनि टेलिफोनमार्फत आमालाई सम्झने गर्दछन् । आजकल सामाजिक सञ्जालमा आमाको तस्वीर राखेर सम्मान व्यक्त गर्ने चलन पनि बढेको छ ।
यसैबीच, दिवंगत आमाको सम्झनामा श्राद्ध र दान गर्न वैशाख कृष्ण औँसीका दिन काठमाडौंको थानकोट क्षेत्रमा रहेको मातातीर्थमा मेला लागेको छ । मेला भर्न आएका भक्तजनहरू बिहानैदेखि घुइँचोमा छन् । कतिपय दर्शनार्थीहरूले शनिबार साँझ दीप प्रज्वलन गरी रातभर जाग्राम बसेका थिए र बिहान सबेरै स्नान गरी पूजा गरेका छन् ।
मेलामा सहभागी भएर मातातीर्थ कुण्डमा दर्शन गर्दा दिवंगत आमाले तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास गरिएको छ । आमा नहुनेहरूले मातातीर्थमा स्नान गरी हरिहर (विष्णु र शिव) को पूजा गर्छन् । यस दिनलाई खास गरेर आमा नभएका व्यक्तिहरूले श्राद्ध र तर्पण दिने अवसरका रूपमा लिने गर्दछन् ।






