लुम्बिनीका मन्त्री र सांसदलेनै गरे बहिष्कार

बुटवल,१३ वैशाख ।
लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनारमा प्रदेशका मन्त्री,सांसद तथा स्थानीयलाई उपेक्षा गरिएको भन्दै केहीले कार्यक्रम बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रम प्रदेशका मन्त्री र सांसदहरूले बहिष्कार गरेका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री एवम् प्रदेश सांसद चन्द्रकेश गुप्ताले कार्यक्रम बहिष्कार गरेका हुन् ।

कार्यक्रममा आफूहरुलाई बस्ने व्यवस्थासमेत नगरी अपमानजनक व्यवहार भएकाले भन्दै मन्त्री ढकाल र आफूले कार्यक्रम बहिष्कार गरेको सांसद गुप्ताले बताए ।

लुम्बिनीकै स्थानीय बासिन्दा समेत रहेका सांसद गुप्ता जनमत पार्टीका हुन् । उनी पूर्वसामाजिक विकास मन्त्रीसमेत हुन् ।

संघीय सरकार मातहत रहेकाले लुम्बिनी विकास कोषले प्रदेशका मन्त्री, सांसद र स्थानीयलाई बारम्बार उपेक्षा गर्ने गरेको
सांसद गुप्ताले टिप्पणी गरे ।

उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषमा प्रदेशको अधिकार र अपनत्वको लागि अब बहस चलाएर अधिकार बाँडफाँट हुनुपर्ने बताए । लुम्बिनीका स्थानीयले आफ्नो जग्गा दिएर संरक्षण गरेर विकास कोष बनेको यति धेरै संरचना बनेकाे स्मरण गर्दै उनलेे तर कोषले स्थानीयलाई न अपनत्व नदिलाएको गुनासो गरे । गुप्ताले अब स्थानीयको सहयोगमा आफ्नो अधिकार स्थापित गर्न लाग्ने चेतावनी दिए ।

एमाले नेता समेत रहेका मन्त्री ढकालले भने कार्यक्रम बहिष्कार भन्दा पनि प्रदेशका मन्त्री र सांसदलाई बस्ने ठाउँ समेत व्यवस्था नभएको देखेपछि कार्यक्रम स्थल बाट बाहिरिएको प्रतिक्रिया दिए ।

लुम्बिनी बचाउ संघर्ष समितिका सहअध्यक्ष रामविकास चौधरीले कोषको व्यवहारबाट स्थानीय सन्तुष्ट नभएको र कोषलाई प्रदेश सरकार मातहत ल्याई पदाधिकारी स्थानीय हुनुपर्ने माग विगत देखि राख्दै आएको बताए ।

वैशाख १३ र १४ गते हुने यो कार्यक्रम नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि आयोजना गरिएको आयोजककाे दाबी छ ।

चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले कार्यक्रममा सहकार्य गरेकाे बताइएको छ ।