ताप्लेजुङ,८ बैशाख ।
ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी उक्त गाडीमा आगो लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, घटनामा मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का ४२ वर्षीय सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी १६ वर्षीया आध्या आचार्य, झापा जिल्लाकी ६९ वर्षीया सरिता पौडेल, र उनका श्रीमान् झापाकै ७० वर्षीय विनोद पौडेल रहेका छन् ।
गाडीमा ६ जना सवार थिए, जसमा अन्य घाइते ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य रहेका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। घाइते सविनाको अवस्था गम्भीर रहेको र छोरा अभियमको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
मृतक आध्या घाइते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाका बुबा आमा रहेको बताइएको छ ।
पाथीभरा दर्शनका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ आईपुगेका ती व्यक्तिहरू होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३:३० बजे पाथीभरा दर्शनका लागि जाँदैगरेको बताइएको छ ।








