काठमाडौँ,७ बैशाख ।
सिंहदरबारभित्रै प्रदर्शन गर्ने क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले पक्राउ परेका सबैलाई रिहा गरिएको जानकारी दिए ।
रिहा भएसँगै अध्यक्ष लिङ्देनले गत चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा सहभागी भएको आराेपमा पक्राउ परेका नेताहरू रिहाइ नभएसम्म आन्दोलन जारी रहने प्रतिक्रिया दिए ।
चैत १५ गते तिनकुनेमा राजावादीहरूकाे प्रदर्शनलाई हिंसात्मक बनाउन भुमिका खेलेको आराेपमा पक्राउ परेका राप्रपाका नेताहरूको रिहाइको माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेपछि आइतबार दिउँसो प्रहरीले अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई पक्राउ गरेको थियो ।त्यस्तै बानेश्वर क्षेत्रबाट ३ जना पक्राउ परेका थिए ।






