काठमाडौं,७ बैशाख ।
आज पनि कोशी प्रदेशसहित देशका अधिकांश पहाडी क्षेत्रहरूमा काैसम आंशिकदेखि सामान्य बदली रहने माैसम पुर्वानुमा महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा थोरै स्थानमा तथा अन्य केही भूभागमा समेत चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपात पनि हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरूमा, गण्डकी र कर्णाली प्रदेशका एक–दुई पहाडी स्थानमा चट्याङ्गसहित वर्षा हुनसक्ने अनुमान गरिएको छ ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना कायमै रहेको मौसमविद्‌हरूको भनाइ छ ।

महाशाखाले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावनालाई ध्यानमा राख्दै कृषक, यात्रु, हवाई उडान गर्ने निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

देशमा अहिले स्थानीय वायु, पश्चिमी वायुप्रवाह र बिहार आसपास सक्रिय न्यून चापीय रेखाको संयुक्त प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण विशेषगरी पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने तराईका अधिकांश क्षेत्र सफा छन् ।

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि चट्याङ्गसहित हल्का वर्षा भइरहेको जनाइएको छ ।