काठमाडौं,६ बैशाख ।
गृहमन्त्रालयले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ ।
भाेली आइतबार राजधानी काठमाडौंमा निषेधित क्षेत्र ताेड्ने घाेषणा गरेको राप्रपालाई गृहमन्त्रालयले कारबाही गर्ने चेतावनी दिएकाे हो ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी राप्रपाको त्यस्तो घोषणाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत सचेत गराएको छ ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट भोलि मिति २०८२/०१/०७ गतेका दिन प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरुप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ। साथै, समाजमा हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ ।’
गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक घटनामा पक्राउ भएकालाई रिहाइ नगरेको भन्दै राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने घाेषणा गरेको थियो ।







