काठमाडौं,६ बैशाख ।
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी २०८२ सालको जेठ १५ गते राजसंस्था पुनःस्थापना हुने दाबी गरेका छन् ।
राजधानी काठमाडौंमा शनिबार आयोजित “पृथ्वीपथको आवश्यकता: प्रबुद्ध वर्गको सोच” विषयक कार्यक्रममा बोल्दै उनले गणतन्त्र सुरु भएको मिति नै त्यसको अन्त्यको मिति पनि हुने दाबी गरेका हुन् । “गणतन्त्र जेठ १५ मा आएको हो, अब अन्त्य पनि यही मितिमा हुन्छ,” उनले भने, “मान्छे मर्ने समय आफ्नै जन्म महिना, वार, तिथि र नक्षत्रमा आउँछ भनेझैँ, गणतन्त्रको अन्त्य जेठ पनि १५ मै हुनेछ ।”
आन्दोलन कसरी अघि बढ्छ भन्नेबारे अर्को फोरममा खुलासा गर्ने भन्दै गुरुङले २०८२ को जेठ १५ मा राजतन्त्र फर्किने र आफूहरूको ‘अभिष्ठ सिद्धि’ हुने दाबी गरे ।
पृथ्वीपथलाई रैथाने पथ भएको भन्दै उनलेे जनताको हक अधिकारको सवाल पृथ्वीपथले उठाएको उल्लेख गरे ।
राज्यलाई थाम्ने जिम्मा राजाको हुने र राजालाई सचेत गराउने काम नागरिकको हुने उनको भनाइ थियो ।






