काठमाडौ,६ बैशाख ।
राजधानी काठमाडौँको तीनकुनेमा गत चैत १५ गते राजावादीहरूकाे प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न रहेको आराेपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सन्तोष राजावादी भनेर चिनिने ३४ वर्षीय सन्तोष कुमार सिलवाल रहेका छन् । उनलाई मध्यराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता सुधीरराज शाहीले बताए ।

शुक्रबार राति साढे १२ बजेतिर पक्राउ परेका सिलवाललाई काठमाडौँ जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

राजसंस्था र हिन्दुराज्य पुनस्थापनाका लागि भन्दै नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिले चैत १५ गते आयोजना गरेको प्रदर्शनका क्रममा २ जना मारिए भने करोडौँको धनमाल लुटपाट, तोडफोड र आगजनी गरिएपछि प्रहरीले घटनामा संलग्नलाई पक्राउ गर्ने क्रम जारी राखेको छ।

उक्त घटनामा संलग्न रहेको आराेपमा केही दिनअघि मात्र प्रहरीले प्रदर्शनका जनकमान्डर दुर्गा प्रसाईंलाई भारतबाट झिकाई हिरासतमा लिएको छ ।