काठमाडौँ,५ बैशाख ।
आज देशभर हल्कादेखि मध्यम बर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको प्रभावमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो सातै प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

रातिपनि यो अवस्था निरन्तर रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा र हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।