वीरगञ्ज,३१ चैत ।
वीरगञ्जमा जारी कर्फ्युकाे समय आज राति १२ बजेसम्म थपिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति अझै पूर्ण रूपमा सामान्य नभएको भन्दै कर्फ्यु आदेश लम्ब्याउने निर्णय गरेको हो ।
शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि लागू गरिएको कर्फ्यु आज चैत ३१ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
कर्फ्यु जारी क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म फैलिएको छ ।
विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको हनुमान शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो । त्यसपछि तनाव चुलिएपछि प्रशासनले सुरक्षा अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो ।