बिरगंज,३० चैत ।
पर्साको वीरगञ्जमा कर्फ्यु आदेश जारी भएको छ । दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार साँझदेखि कर्फ्यु आदेश जारी गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ साढे ६ बजेदेखि लागू हुने गरी भोलि मध्यान्ह १२ बजेसम्म लागू हुनेगरी वीरगन्ज महानगर आसपासको क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका हुन् ।
वीरगञ्जको छपकैयामा दुई समुदायबिच भएको झडपले उग्ररुप लिएकोे छ । हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र भगवान हनुमान जयन्तीको अवसरमा आज शनिबार वीरगञ्जमा शोभायात्रा निकालिएको थियो ।
शोभायात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि अवस्था झडपमा परिणत भएको हो ।
झडपका क्रममा केही सवारीसाधन तथा पसलमा आगजनी समेत भएको छ ।







